नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनसँग नेपाललाई कोरोना विरुद्धको खोप दिन आह्वान गरेका छन् । ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने समेत बताए । ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने जिकिर समेत छन् ।

बीबीसीका अनुसार उनले छिमेकी भारतमा जस्तै नेपालले समेत अस्पतालका शय्या र अक्सिजनको आपूर्ति अभावसँग जुझिरहेको जानकारी गराए । राजधानी काठमाडौंसहित केही ठाउँमा अवस्था केही सामान्य भइरहे पनि यतिखेर भाइरस ग्रामीण क्षेत्रमा फैलिरहेको उनको भनाई छ । अब नेपाललाई विदेशबाट खोपको जरुरत रहेको बताए ।

झन्डै तीन करोड जनसङ्ख्या भएको नेपालका तीन प्रतिशतभन्दा कम मानिसले मात्र पूर्ण मात्रा खोप लगाएका छन्। ओलीले मानिसहरूलाई खोप दिन सकेमा मात्र कोभिड १९ नियन्त्रण गर्न सक्ने भन्दै नत्र कठिन हुने समेत बताएका छन् । भारतको सङ्कटबीच उसले वाचा गरेको खोप नदिँदा आस्ट्राजेनेकाको पहिलो मात्र खोप लिइसकेका ज्येष्ठ नागरिकले यतिखेर दोस्रो मात्रा लिन पाइरहेका छैनन्। यस्तो संख्या करीव १४ लाख हाराहारी छ ।