काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फूटको अन्तिम तयारीमा पुगेसँगै थप लचिलो हुने संकेत गरेका छन् । एमाले माधव नेपाल समुहले अब नयाँ पार्टी गठनको विकल्प नभएको निर्णय सार्वजनिक गरेकै दिन ओलीको यस्तो आह्वान सार्वजनिक भएको हो ।
उनले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन आफु तयार रहेको उनको भनाई छ । आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदको हस्ताक्षर भने फिर्ता हुनुपर्ने उनको प्रस्ताव छ ।
शुक्रबार माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको निष्कर्ष निकालेको समयमा ओलीको संयमित विज्ञप्ती सार्वजनिक भएको छ ।
यसले पुनः एकपटक ओली अफ्ठ्यारोमा परेको स्पष्ट भएको छ । उनी अफ्ठ्यारो अवस्था आउँदा निकै लचिलो देखिने र पछि अरुका विरुद्ध जाइलाग्ने प्रवृत्तिका कारण नेताहरु आश्वस्त भने हुन सकेका छैनन् ।
ओलीले एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने उल्लेख गरेका छन् । उनले पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल पनि गरेको बताउँदै अगाडी लेखेका छन् ‘हाम्रो अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको छ ।’
यस्तो छ ओलीको प्रस्ताव
१. नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन् ।
२. मातहतका पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।
३. संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।
४.आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।
५. यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन ।
६. नेकपा एमालेलाई बैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ ।