८० करोड भारतीयलाई नोभेम्बरसम्म निःशुल्क खाद्यान्न दिने प्रधानमन्त्री मोदीको घोषणा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीलाई इतिहासकै सबैभन्दा खराब महामारी भन्दै गरिब नागरिकका लागि ऐतिहासिक घोषणा गरेका छन् । उनले राहतस्वरुप आगामी नोभेम्बरसम्म ८० करोड नागरिकलाई निःशुल्क खाद्यान्न दिने घोषणा गरेका हुन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण ठूलो मानवीय क्षति भएपछि सरकारको चर्को आलोचना भएको थियो । आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई आगामी दिवालीसम्म बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री मोदीका अनुसार ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइने भएको हो ।