काठमाडौं । नेपालले सन् २०२२ को विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएसँगै विश्वकपको ढोका बन्द भएको हो । सोमबार राती कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरेका छन् ।
नेपालले जारी दोसो चरणका खेलमा यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । आफुभन्दा निकै माथिल्लो स्तरको टीमसँग नेपालले अपेक्षित प्रदर्शन गरेपनि गोल फर्काउन असफल रह्यो । जोर्डनका लागि फैजलले खेलको २४औं र ४९औं मिनेटमा गोल गरे । उनले पहिलो गोल पेनाल्टीमा गरेका थिए ।
रोहित चन्दले विपक्षी खेलाडीलाई डी बक्समा फाउल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको जोर्डनले दोस्रो हाफमा दुई गोल थप्यो । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलको हारको जिम्मा आफुले लिने भन्दै खेलाडीले सोचेजस्तै प्रदर्शन गरेको प्रतिक्रिया दिए । पेनाल्टी नपाएको भए खेलको नतिजा अर्कै हुने उनको भनाई छ । समूह बी मा नेपालले सात खेलमा पाँचौ हार बेहोरेको छ ।
७ खेलबाट ६ अंक जोडेको नेपालले अन्तिम खेल अष्ट्रेलियासँग खेल्दैछ । जोर्डनसँग पराजित भएपछि नेपालको एसिया कपको सिधै तेस्रो चरण पुग्ने सम्भावना कायम राख्न भने अष्ट्रेलियालाई हराउनु पर्ने हुन्छ । नेपालले जेठ २८ मा अष्ट्रेलियाको सामना गर्नेछ । विश्वकप खेलिसकेको अष्ट्रेलिया यो समूहकै सबैभन्दा शक्तिशाली टीम हो ।