पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा थप्पड हानिएको छ । यो घटना मंगलबार भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मंगलवार फ्रान्सको दक्षिण पूर्वी इलाकामा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका थिए । सोशलमा भाइरल भएको एक भिडियो अनुसार सार्वजनिक स्थलमा रहेका समर्थकलाई अभिवादन गर्ने क्रममा एक व्यक्ति उनको नजिक आउँछन्, त्यसपछि राष्ट्रपतिको गालामा उनले चड्कन् दिन्छन् ।
वेलेंस शहरमा भएको घटनापछि प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । घटनापछि सुरक्षा अधिकारीले राष्ट्रपतिलाई सुरक्षित स्थानमा लगेका थिए । उनका समर्थकले ताली बजाएर उनको स्वागत गरिरहेको समयमा घटना भएको हो । फ्रान्समा यो घटनाको भने निन्दा भइरहेको छ ।