काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विनियमावली जारी गरि सहजिकरण गरेको हो । ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको जनाएको छ ।
विनियमावली राष्ट्र बैंकबाट मंगलबार स्वीकृत भएको छ । अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पछि सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु पर्ने छैन ।
तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी चाँही गराउनु पर्ने प्रावधान तोकिएको छ । नेपाल भित्रिएको विदेशी लगानी वापतको रकम बैंक तथा वित्तीय संस्थाले तोकिएका कागजात यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्न सक्नेछन् ।
शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।
विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन\भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने नियम ल्याइएको हो । यसले विदेशी लगानी भित्राउन सहज हुने अपेक्षा गरिएको छ ।