नेपालमा निषेधाज्ञा खुकुलो पार्ने तयारी

File photo

काठमाडौं । नेपालमा निषेधाज्ञा केही खुकुलो पार्ने तयारी गरिएको छ । कोरोना भाइरसको महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा गत वैशाखबाट निषेधाज्ञा लगाइएको थियो । यसबीचमा महामारीको संक्रमण दर केही कम भएपनि अपेक्षित कम भने हुन सकेको छैन ।

तर, जनजिविकामा असर गरेको भन्दै सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएको हो । राससले गृह मन्त्रालयलाई उदृत गर्दै निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको जनाएको छ । त्यसका आधारमा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने भएको हो ।

सम्भवतः सिमित संख्यामा सार्वजनिक यातायात खुला हुन सक्ने बताइएको छ । अहिले गृहले जिल्लाहरुबाट रिर्पोट लिएर त्यसको समिक्षा गरिरहेको बताएको छ । सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनामा सरकार छ ।

अहिले जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार नेपालमा १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ । यो पछिल्ला दिनहरुको कम संक्रमण दर हो ।