रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

मुम्बई । भारतको मुम्बई नजिकै एक यात्रुबाहक रेलमा फसेका करीव ७ सय यात्रीलाई सकुशल सुरक्षित स्थानमा निकालिएको छ ।

रेलको लीकमा पानी भरिएपछि रेल अगाडी बढ्न सकेन र सयौं यात्री रेल भित्रै फसेका थिए ।

मुम्बईको नजिकै बदलापुर भन्ने स्थानमा करीव ११ घण्टासम्म रेलमा मानिस फसेका थिए । लगातारको वर्षाले भारतको मुम्बईमा जनजीवन प्रभावित भएको छ ।

महालक्ष्मी एक्सपे्रसको लीकमा पानी जमेपछि रेल गुड्न नसकेको हो । उनीहरुलाई भारतीय आपतकालिन सुरक्षा दलको टोलीले उद्धार गरेको हो ।

रेलबाट निकालेका यात्रीलाई १७ वटा बसमार्फत सुरक्षित स्थानमा सारिएको हो । उनीहरुलाई खानापिनाको व्यवस्था पनि उद्धारपछि मात्र प्राप्त भएको थियो ।

उनीहरुलाई १९ कोचवाला अर्को विशेष रेलमार्फत सुरक्षित आफ्नो गन्तब्यमा पठाउने तयारी भइरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

रेस्क्यू टोलीले यात्रुलाई रेलबाट बाहिर निकाल्ने क्रममा ३७ जना डाक्टर पनि उक्त स्थानमा खटिएका थिए ।

कुनै अप्रिय घटना नहोस भनी उक्त सतर्कता अपनाइएको रेल विभागको भनाई छ ।

गृहमन्त्री अमित शाहले सुरक्षित रुपमा यात्रीको बाहिर निकाल्ने कार्यको प्रशंसा गरेका छन् ।
एजेन्सी