अमेरिकाको नर्थ क्यारोलाइना राज्य निवासी एक जना मानिसलाई वाटर पार्कमा पौडी खेलेपछि दिमाग खाने (ब्रेन ईटिङ्) अमिबाले टोकेको कारण मृत्यु भएको छ । गत जुलाई १२ तारिखका दिन एडी ग्रे नामका ती ब्यक्ती “फ्यान्टासी लेक वाटर पार्क” मा पौडी खेलेपछि बिरामी भएको र केही समयमा नै मृत्यु भएको समाचार संस्था सि एन एनले जनाएको छ ।
नर्थ क्यारोलाइना डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन् सर्भिसले नाग्लेरिया फ्लोवरी (Naegleria Fowleri) जस्लाई ब्रेन ईटिङ् अमिबाको नामले चिनिन्छ त्यसैको कारण ग्रेको मृत्यु भएको बताएको छ । डिपार्टमेन्टका अनुसार यस्तो जिवाणु फ्रेश पानीमा तापक्रम अत्यन्त धेरै भएर पानीको सतह घटेको समयमा हुने र अझै बिशेष गरी गर्मीको समयमा धेरै हुने गर्दछ । शरीरमा यस्तो जिवाणुको असर भएपछि टाउको दुख्ने, ज्वरो आऊने, वाकवाकी लाग्ने, बान्ता हुने, गर्धन अररो हुने र बिरामी कोमामा जाने गर्दछ । पौडी खेल्ने क्रममा पानी निल्यो भने पनि उक्त खतरनाक जिवाणुले असर गर्दैन तर कहिले काँही डाईभिङ गर्दा भने जिवाणु नाकबाट प्रबेस गरेर दिमागसम्म पुग्ने गर्दछ र दिमागका तन्तुहरु नष्ट गर्दछ ।
उक्त वाटर पार्कले स्थानीय स्वास्थ्य अधिकारीहरुसँग मिलेर अमिबाको उपस्थितीको बारेमा जन चेतना जगाउने र सुचित गर्ने काम गरिरहेको बताएको छ । अमेरिकामा सन् १९६२ देखि २०१८ सम्म यस्तो प्रकृतिको अमिबाको संक्रमण १४५ जनामा देखिएको डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ ।