काठमाडौं । संघीय सरकारले बजेट ल्याएको १५ दिनपछि आज सात वटै प्रदेशमा आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउने छन् । असार १ गते प्रदेश सरकारको बजेट आएपछि १० असारमा स्थानीय सरकारहरुले बजेट ल्याउन सक्छन् । सात वटै प्रदेशमा बजेटको तयारी पुरा भएको छ ।
आज निर्धारित समयमै बजेट सम्बन्धित प्रदेशको प्रदेशसभामा प्रस्तुत हुनेछ । सबै प्रदेशले आगामी आवमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी गरेका छन् । शिक्षा, पूर्वाधार विकास र कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान समेत प्रदेशहरुको प्राथमिकतामा छ ।
गण्डकी र कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा नीति तथा कार्यक्रम पारित भइसकेको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज पारित गरेर आजै चार बजे बजेट ल्याउने तयारी छ । प्रदेशहरुको कुल ३ खर्ब बराबरको बजेट आउने छ । यसमध्ये दुई खर्ब हाराहारी रकम केन्द्रबाट अनुदान तथा राजस्व बाँडफाँटबाट जाने रकम हो ।