काठमाडौं । नेपालमा मनसुन सक्रिय भएको पहिलो सातामै देशभर प्राकृतिक विपत्तीले ठूलो क्षति निम्तिएको छ । एकसातायता देशका अधिकांश भेगमा वर्षा भएको छ । यसले पहाडी भेगमा पहिरोको जोखिम बढेको छ भने तराई भेगका नदीहरुका बहाव बढेको छ । यसले एकसाथ बाढी, पहिरो र डुबान शुरु भएको छ । सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परि कम्तिमा ७ जनाको मृत्यु भएको खबर आएको छ ।
बाजुरामा बड्डीगाड खोलाले बगाएर सोमबार एक जनाको मृत्यु भएको छ । बाजुरामै किन्नी खोलाले बगाउँदा एक जना बेपत्ता छन् । गोरखामा बाढीले एक जनालाई बगाएर वेपत्ता पारेको छ । उता, सल्यानमा समेत एक साता भित्रै खोलाले दुई जनाको ज्यान लिइसकेको छ । मनाङमा बाढी र पहिरोले वितण्डा मच्याएको छ । यहाँ पाँच सय मानिस विस्थापित भएका छन् । मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच सय स्थानीयवासी बाढीका कारण विस्थापित भएका हुन् । यहाँ राहत पुर्याउने तयारी भइरहेको छ ।
मस्र्याङ्दी नदी, घट्टेखोला र स्याफ्रुखोलामा आएको बाढीले मनाङ, मुस्ताङ रलमजुङमा क्षति गरेको हो । बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव बढेको छ । नारायणी नदीले खतराको चिन्ह पार गर्दा नारायणगढ र गैँडाकोटको तटीय क्षेत्रमा जोखिम बढेको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीमा बहाव बढेको छ । यसले लुम्बिनीका जिल्लाहरुमा समेत पहिरोले सडक अवरुद्ध बनाएको छ ।