भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा

Photo : Anushree Fadnavis/Reuters

हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा निजी प्रयोगशालामा कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिने गरेको खुलासा भएको छ । सोहीकारण महामारी फैलनमा सहयोग पुगेको आरोपबारेृ त्यहाँको सरकारले छानबिन शुरु गरेको छ । हरिद्वारमा गत अप्रिल महिनामा कुम्भमेला आयोजना भएको थियो ।

यो मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति समेत सहभागी भएका थिए । उनीहरु नेपाल आएपछि कोरोना पुष्टी भएको थियो । हरिद्धारमा एक लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको हो । बीबीसीका अनुसार राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण गर्न निजी प्रयोगशालालाई जिम्मा दिएको थियो।

कोभिड महामारीको दोस्रो लहर सुरु भएको बेला उक्त मेला आयोजना गर्न दिएको भन्दै उत्तराखण्ड सरकारको चर्को आलोचना भएको थियो। विभिन्न राज्यबाट प्राप्त विवरणअनुसार हरिद्वारबाट फर्किएका धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। कुम्भमेलामा ९० लाख भन्दा बढी मानिस सहभागी भएको अनुमान छ ।