जसपाको यादव-भट्टराई पक्षद्धारा बहुमत हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेस गरेको छ ।

अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूले आयोगमा पुगेर आधिकारिकता दाबी पेस गरेका हुन् । यादव पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर आयोगलाई बुझाइएको छ ।

निर्वाचन आयोगको गत आइतबार बसेको बैठकले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई गरेको कारबाहिको सिफारिस कानुनसंगत नभएको भन्दै अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।

बिहीबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन अन्तर्गत पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । ५१ सदस्यीय कार्यकारिणीमा यादवसँग ३० सदस्य छन् ।