काठमाडौं । विश्व बैंकले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरको छ । विश्व बैंकको तर्फबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । विश्व बैंककअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको नेपालस्थित विश्व बैंकको कार्यालयले जनाएको छ ।
कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैंकको भनाई छ । उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको छ । आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्ने समेत विश्व बैंकले जनाएको छ ।
कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ । सोही सहायताअन्तर्गत खोप खरिद, स्वास्थ्य संस्थाको क्षमता विस्तार, महामारीसम्बन्धी प्रविधिमा आधारित डिजिटल प्रणालीको क्षमता विस्तार तथा अनुगमन र निरीक्षणमा सहयोग गरेको बताइएको छ ।