काठमाडौं । असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म आएको मनसुन र त्यसले उत्पन्न गरेको विपदले करीव साढे ३ अर्ब रुपैयाँ बराबरको कृषि उपजमा क्षति गरेको छ ।
त्यसमा सबैभन्दा ठूलो क्षति प्रदेश २ मा भएको हो । कृषि तथा पशुपंछि विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ वटै जिल्ला बाढीबाट प्रभावित भए ।
८ जिल्लामा पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती पुगेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
महोत्तरी जिल्लाबाट भने पशुपंक्षीतर्फको तथ्यांकहरु आउन बाँकि छ ।
बाढीबाट कुखुरा, हाँस, बाख्रा, भैंसी र गोरु तथा यसको दाना तथा आहार बगाउँदा बढी क्षति भोग्नु परेको हो ।
पशुपंक्षीमा बढी क्षति सिरहा र सप्तरीका कृषकले भोग्नु परेको छ । यहाँ ९७ करोड बराबरको क्षति भएको मन्त्रालयले उल्लेख गरेको छ ।
रौतहटमा ३५ करोडको क्षति भएको छ । धनुषा, पर्सा, बारा र सर्लाहीमा क्रमशः १५, १०, १० र ५ करोडको क्षति भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पहाडी भेगसहित अन्य स्थानको तथ्यांक भने संकलनको क्रममा छ ।
यसैगरी गुल्मीमा गएको पहिरोका कारण भएको भौतिक क्षतिको समेत मूल्यांकन थालिएको छ । १३ जनाको ज्यान जाँदै ठूलो मानवीय क्षति निम्त्याएको गुल्मीमा भौतिक क्षतिको आंकलन शुरु गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।