काठमाडौं । जारी युरो कप २०२० मा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राती घरेलु मैदानमा भएको समूह चरणको अन्तिम खेलमा वेल्सविरुद्ध १–० गोलले विजयी भयो । वेल्स ५६ औं मिनेटपछि १० खेलाडीमा समेटिएको थियो ।
इटलीका माटियो पेसीनाले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । इटलीले ३ खेलबाट ९ अङ्क जोड्यो । प्रतियोगितामा इटलीले टर्की र स्विट्जरल्यान्ड दुबै टीमलाई ३–० गोलको अन्तरमा हराएको थियो । इटाली ३० खेलमा अपराजित रहेको छ । इटलीसँग हारेपनि वेल्स उपविजेताका रुपमा नकआउट चरणमा गएको छ । वेल्सले ३ खेलबाट ४ अङ्क जोड्यो ।
स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले टर्कीलाई २–० गोलले हराएको हो । उता, स्विट्जरल्यान्डले पहिलो जित दर्ता गर्ने क्रममा अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हरायो । स्विट्जरल्यान्डका लागि जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काएका थिए । समूह एबाट स्विट्जरल्यान्ड पनि अन्तिम १६ मा पुगेको छ । टर्की बाहिरिएको छ ।