काठमाडौं । नेकपा एमालेमा पुनः विवाद चर्किएको छ । यसको संकेत स्वयमः वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकतालाई भङ्ग गर्न खोजेको आरोप लगाएका छन् । सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो संकेत गरेका हुन् ।
एमालेमा पार्टी विवाद पुनः चर्किएको सम्बन्धमा भने सोमबार दिउँसोबाटै चर्चा शुरु भएको थियो । खासगरी कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली पक्षले भ्याकेट (पुनरावलोकन)मा जाने निर्णय गरेसँगै पार्टीमा विवाद फेरी बल्झिएको हो ।
सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको छ । नेता नेपालले भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शङ्का उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो । ’
यस्तो छ माधवकुमार नेपालको स्टाटस
कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ ( सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।