युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

काठमाडौं । मंगलबार प्रहरीले काठमाडौं दक्षिणकालीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा एक महिलको शव भेट्टायो । स्थानीय महिलाले प्रयोगमा नरहेको सार्वजनिक शौचालयमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरमा नराम्रोसँग प्रहार भएको, अनुहार क्षतविक्षत पारिएको र सलले घाँटी कसेर हत्या गरिएको अवस्थामा भेटाएको उक्त शवको पहिचान बुधबार मात्र भएको छ ।

उनी कालोपुल बस्ने धनबहादुर तामाङकी धर्मछोरी सन्तोषी सुब्बा रहेको खुलेको छ । सुब्बा युट्युव नियमित हेर्नेहरुका लागि एक भाइरल पात्र हुन् । उनले विभिन्न पंक्षीको आवाज दुरुस्तै निकाल्थिन् । सोही प्रतिभाका कारण उनलाई युट्वरहरुले आफ्नो च्यानलमा ल्याएका थिए । सो वापत उनलाई आर्थिक सहयोग समेत जुटेको थियो ।

सानैमा जन्म दिने बुबा आमाबाट छुट्टिएकी संतोषीलाई चावहिलमा सडकमा पसल गरि गुजारा चलाइरहेका धनबहादुरले पालनापोषण गरि हुर्काएका थिए । असार ५ गते अचानक हराएकी संतोषीले अपराह्न फोन गरेर आफु फर्पिङमा रहेको बताएकी थिइन् । भोलिपल्ट फर्कने बताएकी उनी सधैका लागि बिदा भएकी छिन् ।

प्रहरीका अनुसार ८ गते उनको हत्या भएको खबर सार्वजनिक भएको हो । उनको पहिचान भएसँगै आज प्रहरीले उनको बारे खबर सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार संतोषी असार ५ मा फर्पिङको पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको पाइएको छ ।