काठमाडौं । न्यायमूर्ति मानिने न्यायाधीश पनि आफ्नै गतिविधिका कारण विवादित हुन्छन् । यस्तै विवादमा तानिएका न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले छानविन समिति गठन गरेको छ ।
न्यायपरिषद्को सोमबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशबारे छानविन गर्न समिति गठनको निर्णय गरेको परिषद्ले जानकारी दिएको छ ।
बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको थियो ।
क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन र काठमाडौँ जिल्ला अदालतका एक न्यायाधीशमाथि छानविन गर्न समिति गठन गरिएको हो ।
उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन हुने भएको छ ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।
जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन भएको छ ।