आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?

काठमाडौं । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।

व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।

बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनैपर्नेबाहेक अन्य व्यक्तिहरूलाई भौतिक उपस्थितिमार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन कार्यालयले अनुरोध पनि गरेको छ ।

अन्य सेवाहरुको लागि भने न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरी आइतबार, मंगलबार र बिहीबार (सार्वजनिक विदाबाहेक) कार्यालय संचालन गर्नेछ ।