काठमाडौं । नेपालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो तयार गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने मन्त्रालयले गरेको छ ।
नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले छिट्टै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । कोभिड–१९ विरुद्धको खोपका बारेमा हल्ला भन्दा काम गरेर देखाउने उनको प्रतिवद्धता रहेको छ । उनले खोप ल्याउन विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिए ।
उनले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको समेत जनाए । सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुगिने बताए । उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।