काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अमेरिकी सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारीपत्र हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको जनाइएको छ । प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने भएको छ । गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएको जनाइएको छ ।
गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले ८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको बताए । उनले अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफूलाई स्थापित गरेर नेपाल, भारतलगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको समेत बताएका छन् ।
सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। उनका अनुसार अहिले ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् । ६५ राष्ट्रबाट ४,५०० भन्दा बढी लगानीकर्ता सगुनमा जोडिएका छन् ।