अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक कम्पनीलाई अनुमति

काठमाडौं । अन्तरिक्षमा भाडा लिएर यात्रुलाई व्यवसायीक उडान गर्न थप एक कम्पनीले अनुमति पाएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको बीबीसीले लेखेको छ । यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको अनुमतिलाई शुक्रवार अद्यावधिक गरिएको छ ।

यी व्यवसायी बेलायती हुन् । उनको कम्पनीबाट पृथ्वीबाट ९० किलोमिटर टाढा यात्रा गरेर अन्तरिक्षको छेउमा पुग्न ६०० यात्रुले पैसा बुझाइसकेको बताइएको छ । तिनीहरू धनाढ्य र चलचित्र एवम् सङ्गीतका चर्चित अनुहार छन् । भर्जिन गलक्टिकले अमेरिकाको न्यू मेक्सिको मरुभूमिमा रहेको स्पेसपोर्टबाट उडान भर्ने भएको हो । मे २२ मा युनिटी नामक रकेट विमानको सफल परीक्षण गरेपछि एफएएले सो अनुमति दिएको बीबीसीले जनाएको छ ।

सो परीक्षण उडानको तथ्याङ्कले आवश्यक सबै प्राविधिक विकासहरू गरिएको देखाएको बताइएको छ। युनिटी रकेट विमानमा दुई चालक र छ यात्रु रहनेछन् । भर्जिन गलाक्टिकको केही उडान इटलीको सेनाले समेत बुक गरेको छ । जुलाई ४ मा सर रिचर्ड अन्तरिक्ष उडानमा जाने तयारी छ । अमेजनका मालिक जेफ बेजोस समेत आफ्नो कम्पनीबाट अन्तरिक्षमा जान तय गरिसकेका छन् ।