यूरोकप : इटली र डेनमार्क क्वाटरफाइनल प्रवेश

लण्डन । जारी यूरोकप २०२० मा इटली र वेल्स अन्तिम ८ मा प्रवेश गरेका छन् । शनिबार राती सम्पन्न दुबै खेलबाट क्वाटरफाइनल जाने पहिलो दुई टोलीको टुंगो लागेको हो । इटालीले अष्ट्रियालाई हरायो । डेनमार्कले भने वेल्सलाई पराजित गरेको हो । प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले हराएको हो । लण्डनको वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे ।

अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीको क्वाटरफाइनल भिडन्त बेल्जियम र पोर्चुगलबीचको विजेतासँग हुनेछ । यो खेलमा इटलीले लगातार अपराजित रहने ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान तोडेको छ । लगातार ३१ खेलसम्म अपराजित इटलीले यसअघि १९३५मा यस्तो कीर्तिमान बनाएको थियो । आजै भएको अर्को खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले हरायो । डेनमार्कले क्वाटरफाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेताको सामना गर्नेछ ।