अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले

Photo : AP\ABC NEWS

लस एन्जलस । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना यात्रुले जहाजबाटै हाम फालेका छन्। ती पुरुषले विमानको ढोका खोल्दै आपतकालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)लाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्‍याइएको समेत समाचारमा उल्लेख छ ।

बीबीसीले अमेरिकामा पछिल्लो समय उडानका बेला हुने घटना बढेको समेत बताएको छ । यो वर्ष मात्र झण्डै ३ हजारवटा यस्तो घटना भएका छन् । स्थानीय समय अनुसार साँझको सात बजेर १० मिनेट जाँदा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसको फ्लाइटमा उक्त घटना भएको हो । ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए।

उनीहरूका अनुसार उनी आपतकालिन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढोकातर्फ अघि बढेको बताइएको छ । उनको हर्कतपछि विमानलाई आफ्नो गेटमा फर्काइएको थियो। अधिकारीहरूले ती यात्रुको नियत र घटनाबारे बुझ्न अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ । सन् १९९५ यता यस्ता विवरण राख्न थालिएयता गत महिना सबैभन्दा धेरै कानुन तोड्ने सम्भावित घटनाहरू देखिएको एफएएको विवरणमा उल्लेख छ । पछिल्लो दिनमा धेरै घटना यात्रुले मास्क लगाउन नमान्नु हो ।