एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

Bedu Ram Bhusal

काठमाडौं । एमाले नेता बेदुराम भुसालले आफु स्वतन्त्र सांसदको रुपमा बस्न चाहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनी नेकपा विभाजन नहुँदै निर्वाचन भएकाले आफ्नो दल अहिले अस्तित्वमा नरहेको बताएका छन् । पार्टी विभाजन भएपछि एमाले र त्यसमा पनि माधव नेपाल पक्षमा रहेका उनी राष्ट्रियसभाका सदस्य हुन् ।

भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाएर स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहेको र निर्वाचन समेत स्वतन्त्र रुपमा लड्ने बताएका हुन् । उनले आफ्नो पार्टी नै अहिले नरहेको भन्दै कुनै पनि पार्टीमा लेबी नकाट्न समेत सचिवालयलाई आग्रह गरेका छन् । माओवादी केन्द्र र एमालेको एकताबाट नेकपा बनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनसहितका विवादका बीच सर्वोच्चले यो पार्टीको एकतालाई मान्यता दिएन ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएको उनले बताएका छन् । उनले पत्रमा नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा काम गरेको र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहने बताएका हुन् ।