काठमाडौं । विदेशबाट कोरोना विरुद्धको खोपको मात्रा पुरा गरि नेपाल आउने यात्रुलाई सहज भएको छ । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान सक्ने गरि सरकारले आदेश जारी गरेके छ । विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सीधै गन्तव्यस्थलमा जान दिइने भएको छ ।
उनीहरुको अनुगमन स्थानीय सरकारले गर्नेछ । विदेशबाट आउने सबै यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपोर्ट भने हुनुपर्छ । विदेशमा खोप नलगाए पनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटल क्वारेन्टिन बसे पुग्नेछ। यसअघि यो नियम १० दिनको थियो । यात्रुले पीसीआर रिपोर्टसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा जहाज चढ्न सकिने भएको छ ।
आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुलाई स्थानीय तह वा सीसीएमसीको सिफारिशमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सीधै घर जान दिइने नीति समेत सरकारले लिएको छ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा दुई जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने छ ।
७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ ।
वैदेशिक रोजगारीबाट फर्कंदा होटल बुकिङ अनिवार्य नहुने
होटल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सीधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ । तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनी तोकेका होटलमा बस्नुपर्नेछ । डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कूटनीतिक नियोगको सिफारिशमा सरकारी क्वारेन्टिनमा राखिनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने खर्च सरकारले नै बेहोर्नेछ ।