बर्नेबी\क्यानडा । अमेरिकी मुलुक क्यानडामा अत्यधिक तापक्रमका कारण मानिसहरुको हताहती बढेको छ । दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम बढ्दा मानिसहरु मरेको बीबीसीले लेखेको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको उल्लेख गरेको छ । मर्नेमा ज्येष्ठ नागरिक धेरै छन्। सो क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको हो ।
ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको समाचारमा उल्लेख छ । यो क्यानडामा इतिहासमै सर्वाधिक गर्मी भएको रेकर्ड भएको छ । क्यानडामा यसअघि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको रेकर्ड छैन ।
बीबीसीका अनुसार भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको ख्याल राख्न आह्वान गरेका छन् । उनले यो मौसम जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने बताए । खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएका मानिस बढी जोखिममा देखिएका हुन् ।
बर्नेबीमा मात्रै प्रहरीले एक्कासि मृत्यु भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको समाचारमा लेखिएको छ । उनीहरु धेरैजसो निवृत्तिभरण पाइसकेका मानिस थिए । ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै एकसयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका छन् ।
इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ। उता, अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा समेत तापक्रम बढेको खबर छ । सन् १९४० यता तथ्याङ्क राख्न थालेयता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ।