काठमाडौं । अब चीन र दक्षिण कोरियामा समेत काठमाडौंका लागि नियमित उडान हुने भएको छ । पछिल्लो निषेधाज्ञापछि रोक लगाइएको यी गन्तब्यका लागि सरकारले विभिन्न कम्पनीलाई उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालिएको थिएन । प्राधिकरणका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ । यो उडानको अनुमति कोरियन एयरले पाएको हो ।
चीनमा भने चेन्दु र ग्वाङझाउमा उडान हुने भएको छ । तालीका अनुसार छेन्दुबाट एयर चाइनाको जहाज हरेक आइतबार काठमाडौं आउने छ । चाइना साउदर्नले ग्वाङझाउमा प्रत्येक साताको मंगलबार उडान गर्ने अनुमति पाएको छ । अब नेपालमा प्रत्येक साता २४ उडान हुने भएको छ । यो तालिका जुलाई महिनाभरका लागि हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको छ ।