काठमाडौं । सरकारले निषेधाज्ञामा व्यापक खुकुलो नीति लिँदै सबै प्रकारका सवारी साधनको संचालन खुला गरेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरु भएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै सबै प्रकारका सवारी साधनको संचालन खुला भएको हो । काठमाडौं उपत्यकाकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा भने मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्म थपिएको छ । थप भएको निषेधाज्ञाको समयमा सभा जुलुस गर्न रोक लगाइएको छ । पार्टी र भोजभतेर समेत बन्द छ ।
सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । मास्क अनिवार्य गरिएको छ । काठमाण्डौ उपत्यका भित्रिने गाडीले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आउनु पर्नेछ । स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रूपमा दैनिक निसङ्क्रमित गर्नुपर्ने सर्त समेत राखिएको छ ।
सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना जस्तो क्षेत्र अझै बन्द हुने छ एउटा कोठामा बढीमा २५ जना उपस्थित हुने गरी परीक्षा सञ्चालन गर्न सकिने भएको छ । औषधिबाहेकका पसल बेलुका ६ बजेसम्म मात्रै र टेक वे वा होम डेलिभरीका लागि रेस्टुरेन्ट तथा खाजा घर बेलुकी ७ बजेसम्म खोल्न पाइने छ ।