काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा आज पनि जवाफी बहस हुँदैछ ।
आइतवार सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीहरुको बहस सकिएसँगै रिट निवेदक पक्षका कानूनी व्यवसायीहरुको जवाफी बहस शुरु भएको थियो ।
आइतवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जवाफी बहस शुरु गरेका थिए । उनीसहित जवाफी बहस गर्ने कानून व्यवसायीहरुलाई विभिन्न प्रश्नहरु सोधिएको छ ।
प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरुले जवाफी बहस शुरु गर्नुअघि विभिन्न प्रश्नहरु राखेका थिए। उनीहरुले शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ ?, १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो ? संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो ?, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन् । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनेछन् ।
त्यसअघि सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनु पर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुक्नु भएको तर्क राखेका थिए । यसैगरी बाँकी रहेका रिट निवेदक पक्षका कानून व्यवसायीहरुले भोलि जवाफ दिनेछन् । त्यससँगै आजबाट जवाफी बहस सकिनेछ । भने अब ४ जना एमिकस क्यूरी (अदालतको सहयोगी) को बहस बाँकी रहनेछ ।
सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् ।