चितवनमा ९ दिन देखि हराइरहेकी यूवतीको शव फेला, घटना रहस्यमय रहेको परिवारको आशंका

चितवन । चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको आइतबार शव भेटिएको छ । ९ दिन अगाडी आफुलाई अपहरण गरिएको भन्दै दिदीलाई फोन गरेकी भण्डारीको शव भेटिएपछि परिवारले यो घटना रहस्यमय भएको बताएको छ । सोहीकारण सोमबार दिनभर स्थानीयले उनको शव समेत बुझ्न मानेनन् । सोमबार साँझ भने स्थानीय प्रशासन र परिवारबीच दुई बुँदे सहमति भएसँगै उनको शव घटनास्थलबाट भरतपुर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्ने सहमति जुटेपछि परिवारले शव लैजान अनुमति दिएका हुन । पिडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव लैजान नदिने अडान राख्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

अपहरण भएको फोन गरेपनि त्यसपछि अपहरणकारीबाट पुनः कुनै फोनसहितको जानकारी नआउनु र फोनको लोकेसनभन्दा फरक स्थानमा उनको शव भ्टिएपछि घटना रहस्यमय बनेको छ । राप्ती नगरपालिका–३ की भण्डारी ९ दिन अघि बिहान साथको घरमा जाने भन्दै निस्किएकी थिइन् । आतइबार दिउँसो ब्रम्हस्थानी सामुदायिक वनको भिरालो भागमा उनको शव भेटिएको हो । शव नजिकै धानमा हाल्ने पतेराको विषादी समेत बरामद भएको छ ।