काठमाडौं । नेपालको बैंकिंग प्रणालीमाथि पटक पटक प्रश्न चिन्ह उठ्ने गरेको छ । यस्तै एक रहस्यमय घटना अहिले काठमाडौंमा भएको छ । जहाँ म्याद सकिएको डेबिट कार्डबाट साढे ३४ लाख रुपैयाँ निकालिएको छ । यो आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले सोलुखुम्बु घर भइ भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको ह । गुरुङ पूर्व ब्रिटिस लाहुरे समेत हुन् । उनीहरूले काठमाडौंको चाबाहिल, कालोपुल, हात्तिसार, भाटभटेनी क्षेत्रमा सिद्धार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेका छन् ।
पैसा निकाल्न बेलायतको लोइज बैंकको भिसा डेबिट कार्ड प्रयोग भएको छ । अघिल्लो बुधबार ३० रकम निकालेका उनीहरुले जब म्याद सकिएको डेबिट कार्डबाट पैसा आउने थाहा पाए, त्यसपछि भने पटक पटक गरि साढे ३४ लाख रुपैयाँ निकालेका छन् । प्रहरीका अनुसार त्यसरी निकालेको रकमध्ये २१ लाख बरामद भएको छ ।
१० लाख भन्दा बढी सहकारीमा जम्मा गरेको र २ लाख रुपैयाँ आफैले खर्च गरेको पाइएको छ । म्याद गुज्रिएको कार्डबाट पैसा झिकिएको पत्ता पाएपछि भने बैंकले प्रहरीलाई खबर गरेको थियो । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बैंकले भने प्रणालीमा आएको एक दुर्लभ समस्याका कारण यस्तो घटना भएको बताएको छ ।
सामान्यतया म्याद सकिएको कार्डबाट पैसा आउँदैन । वास्तविक कार्ड होल्डरले नै पैसा झिकेपनि म्याद सकिएको र आफ्नो खातामा भएको भन्दा बढी रकम झिकिएको पत्ता पाएपछि बैंकले प्रणालीमा गडबड भएको पत्ता पाएको थियो । प्रहरीले यो कसरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ ।