चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने भर्चुअल सम्मेलनमा नेपाली प्रधानमन्त्रीसहित शीर्ष नेताले भाग लिँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको एक शताब्दी पुगेको अवसरमा राजनीतिक दलसम्बन्धी एक विश्वस्तरीय सम्मेलनलाई आज चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले सम्बोधन गर्दैछन् । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेता सहभागी हुने भएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणासहितका नेताले सम्मेलनमा भाग लिने भएका हुन् । सम्मेलन जनहित र राजनीतिक दलको जिम्मेवारी विषयमा हुनेछ ।

भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका पाँच सय नेता र एक हजार प्रतिनिधिले भाग लिने बताइएको छ । चीनमा सत्तारुढ दल स्थापनाको एक सय वर्ष पुगेको अवसरमा विभिन्न् कार्यक्रम आयोजना भइरहेका छन् ।