बाढी-पहिरोले पुलमा गरेको क्षति अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले बाढी पहिरोले देशभरका सडकमा रहेका पुलमा  भएको क्षतिबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलमा पुगेको क्षतिबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको हो । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको छ । मन्त्रालयका अनुसार समितिले आगामी साउन ७ गतेभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने छ ।

यो पटकको मनसुनमा निर्माणाधिन र बनिसकेका पुलसमेत निरन्तर भत्किएका छन् । यसले पुल निर्माणको गुणस्तरमै प्रश्न उठेपछि सरकारले कार्यदल गठन गरेको हो । कार्यदलले निर्माण सम्पन्न भएका र निर्माणाधीन पुलमो भएको क्षतिको अध्ययन गर्नेछ । कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा सुझाव समेत दिने राससले जनाएको छ ।