बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?

लण्डन । फुटबलको राजा मानिने इंग्ल्याण्ड ५५ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि चुमेयता ठूलो प्रतियोगिताको फाइनल नखेलेको यो टीम जारी यूरोकपको फाइनल पुगेको हो । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ ।

उसका लागि यो खेल ऐतिहासिक हुने छ । यसअघि वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो । कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे थिए ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । ३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो । इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्ने तालीका छ ।