काठमाडौं । युरो कप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । आज इङ्ग्ल्यान्ड र इटली उपाधीका लागि भिड्नेछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुने तालिका छ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्दैछ । उसले इतिहास रच्ने मौका पाएको छ । सन् १९६८ मा यूरो जितेको इटली भने सन् २०१२ मा फाइनल खेलेको थियो । इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो ।
पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेसम्म २७ खेल भएकोमा इटलीले ११ खेल जितेको छ । इङ्ग्ल्यान्डले ८ खेलमा जित निकालेको भने ८ खेल बराबरी भएको छ ।