काठमाडौं । एमालेलाई विभाजनको मुखबाट जोगाउन अन्तिम कसरतमा लागेका नेताले मिलीसक्यो भन्न लागेको दुई साता भयो । पछिल्लो समय शनिबार एमाले नेता सुवास नेम्वांगले आइतबार बिहानै एमालेका सुभचिन्तकले सुखदः खबर सुन्न पाउने बताएका थिए । तर, उनले भनेजस्तो भएन । सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ ।
यस विषयमा वरिष्ठ नेता माधव कुमार नेपालले चट्टानी अडान राखेका छन् । कार्यदलका नेता आइतबार बिहानै देखि अर्थ मन्त्रालयमा जुटेका छन् । छलफल चल्दाचल्दै कार्यदलका सदस्य घनश्याम भुसालले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटेका छन् । ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिने भनी बुँदा थप्न चाहेको छ ।
तर वरिष्ठ नेता नेपाल भने अदालतमा विचाराधिन मुद्दामा कुनै पनि शब्द राख्न नहुने अडानमा छन् । सोहीकारण एमालेमा कुरा मिलेको छैन । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिएका छन् । यसमा एमालेका २३ सांसदको हस्ताक्षर छ । यो मुद्दाको संवैधानिक इजलासमा बहस सकिएको छ । मुद्दाको पेशी सोमबार राखिएको छ ।