देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

File


काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेर बहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको सर्वोच्चले उक्त आदेश गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो । फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको हो । सर्वोच्चले संविधानको धारा ७५ (४) को प्रक्रियामा नगएकाले केपी शर्मा ओलीले ७५(५) अनुसार गरेको दाबी भने संविधानसम्वत नभएको उल्लेख गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेकी हुन् । प्रधानमन्त्रीले मार्गप्रशस्त गरेको भन्दै राष्ट्रपति भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आहृवान गरेकी थिइन् ।

राष्ट्रपतिले तोकेको समयभित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एमाले संसदीय दलका नेता ओलीको दाबी परेको थियो । देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधवकुमार नेपाल समूहका २६, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षर बुझाएका थिए । अब देउवाले एक महिनापछि संसदबाट विश्वासको मत लिनुपर्छ ।