काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले आगामी चैतभित्र सबै नागरिकलाई खोप पुर्याउने निर्णय गरेको छ । यो नयाँ सरकारको पहिलो निर्णय हो । मंगलबार राती सपथग्रहणपछि सिंहदरबार पुगी प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । त्यसपछि बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई दिएको छ । बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय अब सरकारको प्राथमिकतामा रहने बताएको छ । स्थानीय तहको निर्वाचन समेत सरकारको प्राथमिकतामा रहने भएको छ ।