टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?

काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिने निश्चित भएको छ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अन्य पदाधिकारी गरि कुल २६ सदस्यीय टोली ओलम्पिकमा भाग लिन जाने छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने निश्चित भएको जानकारी गराएको छ ।

कमिटीका अनुसार नेपालबाट पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

टोकियो ओलम्पिकमा नेपालको झण्डा भने पौडीकी गौरिका सिंहले बोक्नेछिन् । टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल रहने छन् । टोकियो ओलम्पिक २०२०, सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिक मै भाग लिएको थियो ।