दक्षिण अफ्रिकामा आन्दोलन चर्किएसँगै भड्किएको हिंसामा कम्तिमा ७२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकामा हिंसा शुरु भएको हो । सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडमा कम्तिमा १० जना मारिएसँगै मर्नेको संख्या आकासिएको हो ।
तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित एक भवनबाट बच्चालाई फ्याँक्दै गरिएको दृश्य बीबीसीले कैद गरेको समेत बताइएको छ । प्रहरीले परिस्थिती सामान्य बनाउन नसकेपछि दक्षिण अफ्रिकामा सेना परिचालन गर्नुपरेको छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । दक्षिण अफ्रिकी प्रहरीका अनुसार १,२३४ जना पक्राउ परिसकेका छन् ।
राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९० को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटना भएको बताएका छन् । लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने चेतावनी मन्त्रीहरूले दिएका छन् । पूर्वाराष्ट्रपति जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न आदेश दिइएको थियो । उनले आदेश नमानेपछि १५ महिना लामो जेल सजाय सुनाइएको छ ।