काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा ५ अर्ब रुपैयाँ बजेट सहमति प्रदान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति अनुसार फाइल सदर गरेका हुन् ।
आजै अर्थले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत बजेट स्वीकृत गरेको छ । स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ । प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ ।
कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेको उनको सचिवालयले जनाएको छ ।