अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै

GETTY IMAGES\BBC

काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सैन्य फौज फिर्ता भएसँगै अधिकांश भूभाग तालिवानले कब्जा गरिरहेको छ । यस अवस्थामा अमेरिकी र नेटो सुरक्षा फौजलाई भाषाको अनुवादमा सहयोग गरेका अफगान दोभासेमाथि समेत जोखिम बढेको छ । सोहीकारण उनीहरूको अमेरिकाले उद्धार गर्ने भएको छ । अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा आफ्ना सेना फिर्ता लिने समय सीमा तोकेसँगै ह्वाइट हाउसले पछिल्लो तयारी गरेको हो। उनले ती व्यक्तिहरु बहादुर भएको बताएकी छिन् । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले पत्रकार सम्मेलनका दौरान यस्तो जानकारी गराएकी हुन् ।

बीबीसीका अनुसार सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै राष्ट्रमा अमेरिकी सेनासँगै राखिने भएको छ । अहिले तालिवानले इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकाका सबै चौकी कब्जा गरिसकेको छ ।