काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वयमःले प्रशंसा गरेका छन् ।
सफल रोजगार कार्यक्रम भएपनि छिटपुट उदाहरण लिएर आलोचना गर्न नमिल्ने उनको तर्क थियो ।
मन्त्री विष्टका अनुसार एक महिना चलेको यस कार्यक्रमका दौरान १ लाख ७६ हजार बेरोजगार नागरिकले काम पाएका छन् ।
उनले यस कार्यक्रमको प्रशंसा हुनुपर्ने समेत बताए । बिहीबार आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री विष्टले चालु आवमा ५ लाख बेरोजगार यूवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकराी दिए ।
सरकारले चालु आवको बजेटमै उक्त घोषणा गरेको छ । मन्त्री बिष्टका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५\७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका सिलसिलामा साढे २ अर्ब रुपैयाँ खर्च भएको छ ।
यसले ८ हजार भन्दा बढी साना आयोजना सञ्चालन भएका छन् । मन्त्रालयका अनुसार उक्त वर्ष एक जना बेरोजगार यूवाले औसतः १३ दिनसम्म रोजगारी पाएको तथ्यांक आएको उल्लेख गरेको छ ।
सरकारले स्थानीय तहमार्फत यो कार्यक्रम संचालन गरेको थियो । गत जेठमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ स्थानीय तहमा पुगेको थियो ।
सडक मर्मत, गोरेटो बाटो निर्माण, पैनीको मर्मत, वृक्षरोपण, सामुदायिक भवन मर्मत, सरसफाइ, चौतारो निर्माण, बगैचा निर्माणजस्ता काममा यो रकम खर्च भएको र रोजगारी सिर्जना भएको मन्त्रालयको भनाई छ ।
यो कार्यक्रम शुरु भएपछि भने सरकारको निकै ठूलो आलोचना भएको थियो । त्यससमय विगतमा समूदाय मिलेर गर्न सक्ने कार्यक्रमका लागि समेत ठूलो रकम खर्च भएको थियो ।
खासगरी सरकारले आफ्ना कार्यक्रता पोस्न कार्यक्रम ल्याएको भन्दै यसले ठोस उपलब्धी नहुने विज्ञहरुले बताउँदै आएका छन् ।