एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन तथा १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना हुने भएको छ । संघको शनिबार बसेको ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मिति तय गरेको हो । बैठकले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरेको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले तोकिएको शुल्क तिर्नुपर्ने प्रावधान थियो । बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय समेत गरेको छ ।

बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८,७९ को बजेट पनि पारित गरेको छ । कोरोना महामारीका कारण साधारणसभाको कसरी गर्ने भन्ने चाँही पछि तय हुने छ ।