प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

Photo : BBC

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । यस क्रममा अत्यधिक भिडभाड बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र थप्न निर्देशन दिएका छन् । खोप अभियानको प्रभावकारी अध्ययन गर्न आज उनी स्थलगत अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले सोमबार देखि शुरु हुने जोन्सन एण्ड जोन्सननको खोप लगाउने स्थानको अवलोकन गर्नेछन् ।

काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायत खोप केन्द्र अवलोकनमा प्रधानमन्त्री देउवा पुग्ने भएका हुन् । उनले आइतबार स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागका अधिकारीसँग छलफल गर्दै खोप खरीद प्रक्रिया चुस्त बनाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाले आगामी चैत भित्र सबै नागरिकलाई खोप दिने घोषणा गरिसकेका छन् । अहिले धमाधम खोप आउने क्रममा छ । आइतबार उनले विश्वासको मत लिने क्रममा समेत सरकारको प्राथमिकता खोप नै रहेको बताएका थिए ।