देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसले दुई दिन लगातार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्यो । यसअघि बालुवाटार दुरुपयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत सोही प्रवृत्ति दोहोर्याएपछि नेताहरुले नै यसको विरोध गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

नेता गगन थापाका अनुसार पार्टीका काम बालुवाटारबाट नगर्न सभापतिसँग अनुरोध गरिएको छ । त्यसमा प्रधानमन्त्री सकारात्मक छन् । प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्ट कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएका थिए । थापाका अनुसार प्रधानमन्त्रीले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको जनाएका थिए । अबदेखि त्यस्तो नहुने भनेर समेत प्रधानमन्त्रीले विश्वास दिलाएका छन् । केपी ओलीले भने पार्टीका बैठकदेखि मन्त्रिपरिषद् बैठकसम्म बालुवाटारमा गरेका थिए ।