काठमाडौं । चीनमा अविरल वर्षापछि आएको भिषण बाढीका कारण विभिन्न प्रान्त नराम्रोसँग प्रभावित बनेका छन् । बीबीसीका अनुसार मध्य चीनमा बाढीको बढी वितण्डा देखिएको छ । कैयौँ स्थानमा बाढी आएपछि मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काममा तिव्रता दिइएको छ । रेल स्टेशन र सडक डुबानमा परेका छन्। ख्वनान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको बीबीसीले लेखेको छ ।
बाढी सुरु भएयता राजधानी जङ्जोमा मात्र कम्तीमा १२ जनाको मृत्यु भएको खबर छ । मुख्य सडक बन्द र उडान रद्द गरिएका छन् । चीनका एक दर्जनभन्दा बढी सहर डुबानमा परेको बताइएको छ । झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी समेत जारी गरेको छ ।