टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी कम्पनी ब्लु ओर्जिनले बनाएको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’मा उनीहरूले यात्रा गरे ।
मंगलबार साँझ १० मिनेटमा यो यात्रा पुरा गरेका उनीहरु सकुसल अवतरण भए । बीबीसीका अनुसार यो यात्रामा बेजोसका भाइ मार्क, पूर्वपाइलट ८२ वर्षिय महिला वाली फन्क र १८ वर्षीय किशोर ओलिभर डाइमेन पनि थिए । यसमध्ये ती महिला र किशोरले सबैभन्दा बढी र कम उमेरमा अन्तरिक्ष जाने रेकर्ड समेत बनाएका छन् । फन्क सन् १९६० तिरै नासामार्फत अन्तरिक्षमा जाने तयारीमा रहेको भएपनि सफल भएकी थिइनन् ।

यो यान पृथ्वीको सतहबाट ६६.५ माइल माथि गएर यान रोकिएको थियो । त्यहाँ गुरूत्व बल समाप्त भएको थियो । सोहीकारण जहाज केवल हावामा तैरिएजस्तै अनुभव भएको उनीहरुले बताएका छन् । करीव ४ मिनेट उनीहरुले संसारलाई नियाल्ने मौका पाए । त्यसबेला जहाजमा उनीहरुले रोमान्चित भई बोलेका शब्दहरु रेकर्ड भएका थिए । त्यसपछि उनीहरु जमिनमा फर्किए ।
बेजोसको कम्पनीले कैयौं रकेट अन्तरिक्षमा पठाएपनि ती मानवरहित थिए । मंगलबार भने मानिससहितको रकेट अन्तरिक्षमा पठाइएको हो । जसको अनुभव मालिक आफैले पहिलो पटक गरे । न्यु सेफर्डको सीटमा फराकिला झ्याल राखिएको छ । जसकारण यात्रुले सजिलै पृथ्वीको नजर देख्न सक्छन् । यो रकेट अमेरिकाको टेक्सासबाट अन्तरिक्षमा पठाइएको थियो ।
